काठमाडौं– काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ।
सोमबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राख्ने गरिन्छ। हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत १०ः२३ बजे जमरा राखिएको हो।
सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ। सोमबार बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैँघरमा जमरा छर्ने गरिन्छ।
घटस्थापना गर्दा पूजाकोठा वा दशैँघरमा विधिपूर्वक दीप, कलश र गणेशको स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजाअर्चना गरिन्छ। नवरात्रीभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजार्चना गरिन्छ। विशेषतः जमरा जौको राख्ने गरिन्छ। तर, आजभोलि भने मकै र गहुँ पनि मिसाएर जमरा राख्ने प्रचलन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।