काठमाडौं– पछिल्लो समय नेपालमा फैलिएको डेंगु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन्। सरकारले डेंगु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ। हरेक अस्पताल शय्याहरू डेंगुका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा सुन्दरमणि दीक्षितले नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्नुपर्ने बताए। डेंगु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिए।
डेंगु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको बताउँदै डा दीक्षितले आफूले प्रत्येक दिन जाँच गर्ने १० बिरामीमध्ये दुई–तीन डेंगु सङ्क्रमित हुने उल्लेख गरे।
स्वास्थ्य मन्त्रालयले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सञ्चालन गरेको भए यस्तो अवस्था नआउने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनको भनाइ छ। एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेको स्मरण गराउँदै डा पुनले डेंगु प्रकोपले भयावह रुप लिइसकेको बताए। ‘नेपालले अब समयमै नियन्त्रण नगरे अझै ठूलो समस्या निम्तन सक्छ,’ डा पुनले भने।
सरकारले डेंगु नियन्त्रणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी भएको भन्दै लामखुट्टेको लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने सरुवा रोग विशेषज्ञ डा गरिबदास ठाकुरको भनाइ छ। डा ठाकुरले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।