काठमाडौं- एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जित्दै आएको निर्वाचन क्षेत्र झापा- ५ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका लेखक युग पाठकले आफ्नो घोषणापत्र तयार गरेका छन्। पाठकले शनिबार दमकबाट औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्।
घोषणापत्रमा पाठकले उत्स्रवण आन्दोलन (Oozelution Movement) को चर्चा गरेका छन्। त्यहीमार्फत् संसारभर नयाँ विचार र नयाँ चेतनाको ज्योति बाल्न खोजिरहेको बताएका छन्।
‘नक्कली राजनीतिबाट जोगिन सक्कली राजनीति चाहिन्छ। नक्कली विकासबाट जोगिन सक्कली विकास चाहिन्छ। भूत र भविष्य चिन्न, वर्तमानको बोध चाहिन्छ। नक्कली राजनीति र विकासको बोझले नेपाल थिलथिलो भएको छ’, उनको विश्लेषण छ।
राजनीतिलाई जनताकै राजनीति बनाउन अब पहल गर्नैपर्छ पाठकको आह्वान छ। ‘राजनीति कसैले ठेक्का हालेर पाउने कुनै अवसर होइन। राजनीति कसैको पैत्रिक सम्पत्ति पनि होइन, जो वंशजका आधारमा पाउने कुरा हो। राजनीति त वर्तमानको कर्मको कसी हो। जनताले राजनीति छाम्न, परख गर्न पाउनुपर्छ। पाएनन् भने त्यो राजनीति नै होइन’, उनले आफ्नो घोषणापत्रमा लेखेका छन्।
घोषणापत्रमा पाठकले आफ्ना तीन अभियान अघि सारेका छन्। तीन अभियानमा ‘स्थानीय ज्ञानको शीर उठाऔं’, जन-जनको शीर उठाऔं र प्रकृतिको शीर उठाऔं भनेका छन्। त्यसको संक्षिप्त व्याख्या पनि गरिएको छ। उनले सातवटा अजेन्डा पनि प्रस्तुत गरेका छन्।
‘नेपालबाट पनि कृषिको कम्पनीकरण बन्द गरिनुपर्छ। कागजी झमेला हटाएर कृषि र किसानलाई राज्यले सिधै लगानी गर्नुपर्छ। कृषिमा सामुदायिक लगानी र पहल जुटाउने किसानलाई राज्यले सिधै सघाउनुपर्छ। कृषिमा सोचदेखि व्यवहारसम्म आमुल परिवर्तन हाम्रो प्राथमिक अजेन्डा हुनेछ’, घोषणापत्रमा भनिएको छ।
स्थानीय स्रोत, स्थानीय ज्ञान, स्थानीय उत्पादनमा जोड दिनुपर्ने पाठकको मत छ। ‘संसारबाट सिक्ने र चाहिने ज्ञान तथा साधन ल्याउने छँदैछ। तर एउटा शीर उठेको समाज र देशले मात्र संसारबाट सिक्न र आफ्नो भविष्यको खाका आफैं कोर्न सक्छ। शीर निहुरिएको समाज सिर्जनशील हुँदैन। हामी स्थानीय ज्ञान, स्रोतसाधन र स्थानीय उत्पादनको शीर उठाउने अभियान चलाउनेछौं’, घोषणापत्रमा उल्लेख छ।
उनले शिक्षा र स्वास्थ्यको अधिकार मौलिक अधिकार भएको भन्दै राज्य र समाज मिलेर सबैलाई शिक्षा र स्वास्थ्यको अधिकार ग्यारेन्टी गर्न रचनात्मक आन्दोलन चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
घोषणापत्रको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।