दिपायल– हिन्दूहरुको ठूलो पर्व बडा दसैं तथा दीपावलीको अवसरमा शनिबारदेखि डोटीमा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ प्रतियोगिता सुरु भएको छ।
भैरबप्रसाद गण सिलगढी, दिपायल सिलगढी नगरपालिका–६ र जिल्ला अस्पताल डोटीको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ फुटबल प्रतियोगिता सुरु गरिएको हो।
कार्यक्रममा दिपायल सिलगढी नगर पालिकाका नगरप्रमुख बाजि सिं खड्काले नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी लगाउँदै खेल क्षेत्रको विकास गर्ने बताए।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले खेलकुद क्षेत्रबाट मित्रतासँगै देशको चिनारी हुने भएकाले खेल क्षेत्रको विकास हुन आवश्यक रहेको बताइन्।
प्रतियोगितामा कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा, भैरबप्रसाद गण र उद्योग वाणिज्य संघसहित सातवटा टोली सहभागी रहेका छन्।
‘खप्तड–शैलेश्वरी गोल्डकप २०७९’ मा प्रथम हुने टोलीलाई एक लाख, द्वितीय हुनेलाई ५० हजारसहित ट्रफी प्रमाणपत्र प्रदान गरिने भैरबप्रसाद गणका गणपति जनमतबहादुर कार्की बताए।
उनले प्रदेशस्तरीय फुटबल खेलले जिल्लाको कला, संस्कृतिको पहिचान तथा फुटबल खेलको विकासमा महत्वपूर्ण भूमिका र स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रवर्द्धनका साथै व्यापार व्यवसायमा ठूलो टेवा पुग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।