काठमाडौं– कोरोना महामारीको अवधिमा देशमा मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको तथ्यांकले यस अवधिमा मानव बेचबिखन तथा ओसारपसार बढेको देखाएको छ।
आयोगको मानव बेचबिखनसम्बन्धी प्रतिवेदन, २०७९ अनुसार मानव बेचबिखनको शैलीमा पनि परिर्वतन भएको छ।
आयोगको प्रतिवेदनअनुसार कोरोना महामारीको आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को दुई वर्षको अवधिमा २७० वटा मानव बेचबिखनका उजुरी नेपाल प्रहरीमा दायर भएको उल्लेख गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७६/७७ र २०७७/२०७८ गरी दुई आर्थिक वर्षमा देशभर २७० वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएका छन्।
ती घटनामा परी ३९२ जना व्यक्तिहरु पीडित छन्। आयोगको प्रतिवेदन अनुसार बेचबिखनमा परेकामध्ये महिला ९५ प्रतिशत छन् भने बालिकाको संख्या ३८.२ प्रतिशत छ।
जातीय आधारमा हेर्दा बेचबिखनको जोखिममा पर्नेमा जनजाति ४४.७ प्रतिशत रहेका छन् भने दलित ६.१, ब्राहम्ण महिला ७.३, क्षेत्री महिला १८.२ र मधेशी महिला ७.३ रहेका छन्। दुई आर्थिक वर्षमा सर्वोच्च अदालतमा ४०२ मुद्दामा सुनुवाइ भएको छ। ती मध्ये ९६ थानमा फैसला भई टुङ्गिएका छन्।
आयोगले शहरी क्षेत्रमा दोहरी साँझ, डान्सबार, मसाज सेन्टर, खाजा घर पार्लरजस्ता मनोरञ्जन तथा सत्कार सेवाका क्षेत्रहरुमा शोषण भइरहेको भनेको छ।
महिला तथा किशोरीहरुप्रति श्रम शोषण, यौन दुर्व्यवहार एवं शोषण, मानसिक उत्पीडनजस्ता कार्यहरु यस्ता स्थानमा भइरहेको आयोगको प्रतिवेदनमा उल्लेख छ।
आन्तरिक बेचबिखनको अलावा भारतमा यौन व्यवसाय, श्रमिकको रुपमा, बालबिवाह तथा र चीनमा विवाह गरेर लैजान कार्य भइरहेको प्रतिवेदनमा उल्लेख छ।
सांस्कृतिक कार्यक्रमको नाममा, सञ्जाल व्यवसायको नाममा, घुमफिरका नाममा र मनोरञ्जन क्षेत्रमा रोजगार दिलाउने बहानामा समेत बेचबिखन तथा ओसारपसार भइरहेको आयोगको ठहर छ।
यसरी भइरहेको मानव बेचबिखनको कुनै पनि औपचारिक तथ्यांक सरकारी निकायले राख्न नसेकको प्रतिवेदनमा उल्लेख छ।
माइती नेपालले २ वर्षको अवधिमा १० हजार जनालाई उद्दार र निगरानी गरेको छ। माइती नेपालले ८ हजार जनालाई पुनर्स्थापना गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै अन्य संस्थाहरुको योगदान पनि उच्च देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। कोरोनाकाकारण मुलुकभित्र बेरोजगारीको समस्या वृद्धि भएको पनि आयोगको निष्कर्ष छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।