काठमाडौं– दसैंका लागि एकै छानामुनि किनमेल गर्न सक्नेगरी भृकुटीमण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ सुरु भएको छ। दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला सञ्चालन गरेको हो।
भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एकै छानामुनि दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। ‘एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दसैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो,’ प्रधानले भने।
मेलामा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानको भनाइ छ। उनले भने, ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेज लगायतका स्टलमा उपभोक्ताका आवश्यक्ता अनुसारका सामानहरु राखिनेछ। बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ,’ उनले भने।
नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवद्र्धन गरेको छ। दैनिक उपभोग्य वस्तु तथा घरायसी प्रयोगका वस्तुहरुको १ सय प्रदर्शनी कक्ष रहेको एक्स्पोमा धेरै किसिमका वस्तु पाइन्छ।
प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजि पे मार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दसैं विशेष छुट पाउने छन्। बर्सेनि आयोजना हुँदै आएको एक्स्पोलाई यसपटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको छ।
असोज ७ गते सुरु भएको मेला १० गतेसम्म चल्नेछ। बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।