काठमाडौं– सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक पास गरेर मात्रै बिहे गर्ने किशोरीहरुलाई एक लाख पुरुस्कार दिने घोषणा गरेको छ।
गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले गाउँपालिकामा जनजातिहरुको धेरै बसोबास रहेको र चेतनाको कमीका कारण उमेर नपुगी बिहे गर्ने प्रचलन भएका कारण त्यसलाई रोक्न गाउँपालिकाले त्यस्तो नीति ल्याएको बताए।
नेपाल लाइभसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष मोक्तानले भने, ‘मरिण गाउँपालिकामा जनजातिको बाहुल्यता छ। चेतनाको कमी छ। उच्च शिक्षा हासिल गर्ने छात्राहरुको कमी छ। उनीहरुको शिक्षामा प्रोत्साहन होस् भनेर यो कार्यक्रम ल्याइएको हो।’
चेतानको कमीका कारण बाल विवाह बढेको बताउँदै अध्यक्ष मोक्तानले १५/१६ वर्षकै उमेरमा भागेर विवाह हुने गरेको बताए। सानै उमेरमा बिहे गरेपछि पढाइ छोड्ने, आर्थिक स्थिति कमजोर भएका कारणले पनि पढाइबाट वञ्चित हुनुपरेको कारणले यस्तो नीति ल्याएको बताए।
बालविवाह न्यूनीकरण गर्नुका साथै कमजोर आर्थिक स्थितिका कारण बीचमै पढाइ छाडेर उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पनि उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ। अहिले गाउँपालिकाले कार्यविधि बनाइरहेको बताउँदै अध्यक्ष मोक्तानले यो खासगरि २० वर्ष उमेर पुगेका छात्राहरुले प्राप्त गर्ने गरी मंसिरबाटै कार्यान्वयन गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।