धनगढी– अछामका पहिरो पीडित परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै गएर राहत रकम हस्तान्तरण गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री राणबहादुर रावल अछामको तुर्माखाद, ढकारी र कमलबजार गाँउपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन्।
सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम क्रिया खर्चवापत घरमै पुगेर हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले जानकारी दिए।
विपदमा ज्यान गुमाएका व्यक्तीलाई एक लाख र क्रिया खर्चवापत २० हजार गरी एक लाख बीस हजार, एकभन्दा बढी मृत्यु भएका परिवारलाई दुई लाख क्षतिपूर्ति र क्रिया खर्च २० हजार गरी दुई लाख ४० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासनीले जानकारी दिए।
अहिले प्रारम्भिक रुपमा सुदूरपश्चिम सरकारले राहत लिएर आइपुगेको बताउँदै पहिरो पीडितका लागि थप राहतको प्याकेज ल्याउने मन्त्री रावलले बताए।
मुख्यमन्त्री त्रिलोचन भट्टले पहिरो पीडितलाई चाँडै पुनर्स्थापना गरिने बताए। ‘अहिले बाटाघाट सबै बन्द भएका छन्। भएको राहत सामग्री पनि प्रभावित क्षेत्र पुर्याउन सकिएको छैन’, मुख्यमन्त्री भट्टले भने, ‘सडक सञ्जाल मर्मत गरेर थप सामग्री पठाइनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।