काठमाडौं– भर्खरै कलेज पास गरेका विद्यार्थीहरु र रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारदातासँग सिधा सम्बन्ध स्थापना गर्न मद्दत गर्ने उद्देश्यले बौद्धस्थित अरुणिमा कलेजले सोमबार एक दिने रोजगार मेला सम्पन्न गरेको छ।
कलेज परिसर बौद्धमा आयोजना भएको मेलामा २० कम्पनी र ६०० भन्दाबढी युवाहरुको सहभागिता रहेको थियो। मेलामा सहभागी कम्पनीहरुले आवेदकहरुको व्यक्तिगत विवरणहरु संकलन गरी आफूलाई आवश्यक जनशक्ति चयनको प्रक्रिया सुरु गरेका छन्।
एकदिने मेलामा सूचना प्रविधि, बैंक तथा वित्तीय संस्था, फुड एण्ड बेभरेज, तयारी पोशाक, लोजिस्टिक, अटोमोबाइल, शिक्षालगायत क्षेत्रका कम्पनीहरुको सहभागी थिए।
कलेजका प्राचार्य केशव जोशीले रोजगार मेलामा युवाहरुको उत्साहपूर्ण सहभागिताले कलेजलाइ हौस्याएको बताए। ‘६०० भन्दा बढी युवाहरु मेलामा उपस्थिति भए र सहभागी कम्पनीका प्रतिनिधिहरुसँग आवेदन दिए। कम्पनीहरु पनि खुशी छन्,’ जोशीले भने।
कार्यक्रमको मुख्य उद्देश्य कलेज सक्याएका र कामका खोजीमा रहेको युवाहरुलाई रोजगारदाता कम्पनीहरुहरुसँग जोड्नु रहेको बताउँदै जोशीले मेलालाई कलेजले आफ्नो वार्षिक कार्यक्रममा राख्ने बताए।
त्यस्तै मेलाका संयोजक अनुप आचार्यले मेलामा सहभागी युवाहरु र रोजगारदाता कम्पनी दुवैलाई फलदायी भएको बताए।
फुड स्टल, फेस पेन्टिंग, फोटो बुथ र विभिन्न मनोरन्जात्मक गतिविधिहरु मेलाका अन्य आकर्षण थिए। अरुणिमा कलेजले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बिबिएस र बिसीए कार्यक्रम सञ्चालन गरिरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।