काठमाडौं– बीमा समितिले बाख्रा बीमालेख खरीद गर्ने बाख्रापालक कृषकको दुर्घटना बीमा, सामूहिक बाख्रा बीमा लगायतका व्यवस्थाहरु थप गरी बाख्रा बीमालेखमा संशोधन गरेको छ।
जस अनुसार, कृषकले बाख्रापालन गर्दा एक महिनादेखि ७ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सक्ने, बीमा गर्दाको समयमा सबै बाख्रा स्वस्थ तथा कुनै चोटपटक नलागेको हुनुपर्ने, बाख्रामा खोप लगाएको हुनुपर्ने, बाख्राको खोर सुरक्षित तथा व्यवस्थित हुनुपर्ने र बीमा गरिएका बाख्रामा क्षति भएमा तीन दिनभित्र बीमकलाई जानकारी गराउनुपर्ने लगायतका व्यवस्था गरिएको छ।
यसैगरी, बाख्रा बीमालेख बमोजिम बीमांक गणना गर्दा ३१ दिनदेखि ९० दिनसम्मको पाठापाठीको हकमा बीमांक रकमको ७ प्रतिशत, ९१ दिनदेखि ५ वर्षसम्मका बाख्राको ५ प्रतिशत र ५ वर्षभन्दा माथि ७ वर्षसम्मका बाख्राको हकमा ७ प्रतिशत बीमाशुल्क लाग्ने व्यवस्था रहेको छ।
बाख्रा बीमा गरिएका बाख्रामध्ये ३१ दिनदेखि ९० दिनसम्म बाख्राको वास्तविक क्षतिको २५ प्रतिशत, ९१ दिनदेखि ६ महिनासम्म वास्तविक क्षतिको ५० प्रतिशत, ६ महिनादेखि माथि ९ महिनासम्म वास्तविक क्षतिको ७५ प्रतिशत र ९ महिनादेखि १२ महिनासम्मका क्षति भएका बाख्राको वास्तविक क्षतिको १०० प्रतिशत दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।
बाख्रा बीमालेख खरीद गर्दा दुर्घटना बीमावापत बीमाशुल्क प्रतिबीमित रुपैयाँ ५ सय बीमाशुल्क बुझाउनुपर्ने र त्यसरी बुझाइएको बीमाशुल्कवापत बीमित बाख्रापालक कृषकको २ लाख रुपैयाँको दुर्घटना बीमा हुने समेत व्यवस्था संशोधित बाख्रा बीमालेखमा रहेको छ।
बाख्रा बीमा अन्तर्गत भौतिक सम्पत्तिको बीमा गर्दा बीमा समितिबाट जारी सम्पत्ति बीमा निर्देशिका, २०७५ बमोजिम गर्नुपर्ने र त्यसमा अनुदानको व्यवस्था नभएको समेत उल्लेख छ। बीमकले आफूसमक्ष परेको बाख्राको बीमा दाबीको तत्काल छानबिन प्रक्रिया प्रारम्भ गर्न ७ दिनभित्र क्षति मूल्यांकनकर्तालाई खटाउनुपर्ने, क्षति मूल्यांकलनकर्ताले १५ दिनभित्र क्षति मूल्यांकन गरेर प्रतिवेदन पेस गर्नुपर्ने र क्षति मूल्यांकन प्रतिवेदन पेस गरिएको मितिले ३५ दिनभित्र बीमकले दायित्व यकीन गरी बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ।
बीमितले दाबी भुक्तानीवापत रकम नपाउने भएमा सोही अवधिभित्र कारणसहित बीमितलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था समेत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।