नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति विद्यादेवी भण्डारी (फाइल तस्बिर)
काठमाडौं– नेपालको संविधान दिवसको अवसरमा चिनियाँ पक्षले उच्च महत्वका साथ शुभकामना व्यक्त गरेको छ। राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङ, र परराष्ट्रमन्त्री वाङ यीले नेपालका समकक्षीहरुलाई शुभकामना सन्देश दिएका छन्।
राष्ट्रपती सीले राष्ट्रपती विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै नेपाल र चीनबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर कायम राख्नुपर्ने बताएका छन्।
‘चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका असल छिमेकी हुन्। अन्तर्राष्ट्रिय परिस्थितिमा परिवर्तन देखिए तापनि हामी दुई देश सधैं एकले अर्काको सम्मान, समर्थन तथा मित्रवत व्यवहार गर्ने गर्छौं,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै सिन्ह्वाले लेखेको छ,‘ बेल्ट एण्ड रोड अवधारणाको उच्च गुणस्तरीय संयुक्त निर्माण गर्दै हामीले कोभिड महामारीको चुनौतीको संयुक्त सामना गरिरहेका छौँ। यसै क्रममा आपसी राजनीतिक विश्वास तथा परम्परागत मित्रता दिनप्रतिदिन बढ्दै गइरहेको छ। चीन र नेपाल सम्बन्धको विकासमा उच्च महत्व दिँदै सम्माननीय राष्ट्रपतिज्यूसँगै मिलेर विकास तथा समृद्धि उन्मुख युगौयुगसम्म चल्ने मैत्रीपूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ चरणमा पुर्याउने मेरो इच्छा छ।’
त्यस्तै, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्ले प्रधानमन्त्री शेरबहादुरलाई शुभकामना सन्देश पठाउँदै दुई देश परम्परागत मित्र रहेकोले विकास रणनीतिलाई गहन रुपमा जोड्दै देश र जनताको हितमा जोड्ने विश्वास व्यक्त गरेका छन्। ‘चीन र नेपाल परम्परागत मित्रवत छिमेकी हुन्। आपसी सम्बन्ध स्वस्थ र स्थिर रूपमा अघि बढिरहेको छ। संयुक्त रूपमा बेल्ट एण्ड रोडको निर्माण गर्दै दुवै पक्षले विभिन्न क्षेत्रमा भएका आदानप्रदान तथा सहयोगको सक्रिय विस्तार गरिरहेका छौँ,’ प्रधानमन्त्री खछ्याङलाई उदृत्त गर्दै सिन्ह्वाले लेखेको छ,‘नेपालसँग मिलेर दुई देशको विकास रणनीतिलाई गहन रूपमा जोड्दै पारस्परिक सम्बन्धको विकासबाट दुई देश तथा दुई देशका जनताको अझ बढी हित, कल्याण सिर्जना गर्दै जाने मेरो इच्छा छ।’
त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालका समकक्षी परराष्ट्रमन्त्री नारायाण खड्कालाई टेलिफोन गरेर शुभकामना दिएको सिन्ह्वाले लेखेको छ। ‘चीन र नेपाल नदी र पहाडसँग जोडिएर युगौँयुगदेखि नै मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै दुई पक्षको साझा प्रयासमा दुई मुलुकको सम्बन्ध निरन्तर रूपमा गहन भएर परम्परागत मित्रता सुदृढ हुँदै आएको बताउनुभएको छ,’ सिन्ह्वाले लेखेको छ,‘उहाँले मन्त्री खड्कासँग दुई देशका नेतागणको महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्ने, चीन–नेपाल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थिर रूपमा अगाडि सार्ने इच्छा रहेको व्यक्त गर्नुभएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।