काठमाडौं– भदौ २७ गतेदेखि अनशनरत डा गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउन लागेको छ। डा केसीलाई काठमाडौं ल्याउन मंगलबार जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालयको टोली अनशनस्थलमा पुगेका छन्। तर, डा केसी भने काठमाडौं नआउने अडानमा छन्।
डा केसीसँगै अनशनस्थलमा रहेका उनका सहयोगी डा अमृत जैसीका अनुसार डा केसीले सरकारको खर्चमा आफू काठमाडौं नजाने बताएका छन्।
‘सरकारले चाहिँ डा केसीलाई काठमाडौं लैजाने भनेर अनशनस्थलमा जिल्ला प्रशासन र प्रहरीको टोली परिचालन गरेको छ,’ डा जैसीले भने, ‘डा केसीले आफू सरकारी खर्चमा काठमाडौं नजाने भन्नुभएको छ। यहाँ आएको सरकारी टोलीले जसरी पनि लाने भनिरहेको छ।’
डा जैसीका अनुसार सरकारले काठमाडौं लैजाने भन्दा नमानेका डा केसीले बुधबार आफैं काठमाडौं जाने बताएका छन्। तर, काठमाडौं लैजाने सरकारको प्रस्तावलाई स्वीकार गरेका छैनन्।
भदौ २७ गतेदेखि २०औं पटक अनशन बसेका डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ। डा जैशीका अनुसार उनको स्वास्थ्यमा जुनसुकै बेला जटिलता आउनसक्ने जोखिमा रहेको छ।
डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका विभिन्न ७ बुँदे माग राख्दै अनशन थालेका थिए। डा केसीको मागका विषयमा डा केसी र सरकारी वार्ता टोलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल समेत चलिरहेको छ। तर, उनका माग सम्बोधनका लागि सरकारले कुनै निर्णय भने गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।