काठमाडौं– सोमबार दिउँसोको वर्षाले निर्वाचन आयोग परिसर डुवानमा परेको छ। आयोगको मुख्य गेटदेखि पार्किङस्थलसम्म पानी जमेर हिँडडुल गर्न समेत समस्या भएको छ।
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यतालिका छ। विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु सोमबार बिहानैदेखि समानुपातिक तर्फको बन्दसूची पेस गर्न आयोग पुगेका थिए।
भारी वर्षापछि पानी जम्मा हुँदा पार्किङ गरिएका सवारीसाधनहरु पनि डुवानमा परेका छन्। वर्षाका कारण बन्दसूची पेस गर्ने कार्यक्रम समेत प्रभावित भएको छ।
आयोग परिसरमा पाल टाँगेर बन्दसूचीका लागि रसिद काट्ने व्यवस्था मिलाइएको थियो। तर, वर्षाले उक्त क्षेत्र प्रभावित पारेपछि नयाँ ठाउँमा रसिद काट्ने व्यवस्था मिलाइएको छ।
सोमबार अपराह्न ४ बजेसम्म विभिन्न ३० वटा दलले समानुपातिक तर्फको बन्दसूची पेस गर्न रसिद काटेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।