काठमाडौंं– उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश दिएपनि काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन् अभियान जारी राखेको छ।
सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन् जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन् जारी राखेको छ।
केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खननस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं महानगर नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन् गरेको बताए।
उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए। उनले कामठाडौं महानगर चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए।
टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आइतबार उच्च अदालत पाटनले आदेश काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।