इटहरी– नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ।
सञ्चारकर्मी तथा प्रेस चौचारी नेपाल दुहबीका नगर संयोजक मित्र क्षेत्रीलाई युनियनले बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
शुक्रबार (आज) दुर्घटना पीडित क्षेत्रीको घरमै पुगेर युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, महासंघ एवम् युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो।
युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्समा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो। बिमित सञ्चारकर्मी क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए।
अधिकारीका अनुसार यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई गत भदौ ११ गते नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।