काठमाडौं– भारत सरकारले अघि सारेको ‘अग्निपथ’ योजना अन्तर्गतको सैनिक भर्ना कार्यक्रमको विषयमा चुनाव पछिको सरकारले निर्णय लिने भएको छ।
भाद्र ९ बाट नेपालीहरूलाई यस योजनाअन्तर्गत भर्ना प्रक्रिया सुरु गर्ने पूर्वसन्ध्यामा नेपालमा चर्को विरोध भएपछि स्थगित भएको थियो।
विरोधपछि स्थगित भएको उक्त कार्यक्रमको बारेमा टुङ्गो लगाउन वर्तमान सरकारले चुनावपछिको सरकारलाई छोडेको हो। परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले उक्त कुरा जानकारी दिएकी हुन्।
‘अग्निपथको बारेमा सरकारले तत्काललाई पछि कुराकानी गर्ने गरेर तत्काल होल्डमा राखेको अवस्था हो। सम्भवतः नयाँ निर्वाचित सरकारले यस विषयमा के गर्ने, कसरी अघि बढ्ने भन्नेबारेमा कुराहरु आउला। अहिलेलाई थाँती छ। कुनै निस्कर्षमा पुग्नेगरी छलफल हुने अवस्था छैन। अग्निपथको बारेमा नेपाल सरकारको अहिलेको निर्णय भनेको नव निर्वाचित सरकारले नै कुरा राख्ने हो, अहिले तत्काल अघि बढ्दैन, यो गर्ने भन्ने भएको छैन,’ लम्सालले भनिन्,‘यो विषय सबै राजनीतिक दलहरुसँग समन्वय गरेर राष्ट्रिय सहमतिमा पुग्नुपर्ने विषय भएकोले त्यसलाई आँकलन गरेर नयाँ सरकारले नगरौँ भन्ने नै अहिलेको सरकारको नीति रहेको छ।’
उता बुधबार मात्र भारितय सेनाका प्रमुखले नेपालले उक्त योजनाको बारे समयैमा निर्णय नलिए भारत फिर्ता लिन बाध्य हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।