काठमाडौं– भारतका सेना प्रमुख जनरल मनोज पाण्डेले नेपालले अग्निपथ योजनामा सहभागी हुनेबारे समयमै निर्णय नगरे नेपालका लागि छुट्याइएको 'काेटा' फिर्ता लिन भारत बाध्य हुने बताएका छन्।
दिल्लीमा बुधबार भएको एक कार्यक्रममा पाण्डेले उक्त कुरा बताएको टाइम्स अफ इन्डियाले लेखेको छ। भाद्र ९ गतेबाट सुरु हुने भनेको उक्त भर्ना कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो।
भारतमा उक्त योजनाको अवधि (४ वर्षका लागि मात्र) र यसका प्रावधानलाई लिएर नेपालमा तीव्र विरोध भएको थियो। पाण्डेले नेपालले समयमै निर्णय नगरे उक्त पद अरुलाई वितरण गर्ने बताए।
'नेपाली गोर्खाका लागि छुट्याइएको काेटा अरूलाई'
‘काठमाडौंले तोकिए बमोजिम भर्ना अभियानमा सहभागी नभए नेपाली गोर्खाका लागि छुट्याइएको रिक्त पदलाई तत्कालका लागि अरूलाई वितरण गर्नुपर्ने हुन्छ’, उनले भने। टाइम्स अफ इन्डियाले भारतको यस्तो कदमले नेपालसँगको पहिलेदेखि नै बिग्रिँदै गएको सम्बन्धमा थप प्रतिकूल असर पार्ने टिप्पणी गरेको छ।
भारतले यो योजना अन्तर्गत ४० हजार 'अग्निवीर' भर्ना गर्न लागेको बताएको थियो, जसका लागि डिसेम्बरदेखि २५ हजार र फेब्रुअरीबाट १५ हजारलाई तालिम दिने कार्यक्रम सार्वजनिक गरेको थियो।
उता यो योजना अघि बढ्नुअघि नै भारतले नेपाली गोर्खाको भर्तीमा वार्षिक ४,००० बाट १५ सयमा झारिसकेको छ। अग्निपथ योजना अघि बढे यो संख्या झन् कम हुन आकलन गरिएको छ।
‘भारतीय सेनाले नेपाली युवा भर्ना गरेकोमा केही वर्गले विरोध गरेका छन्। मेरो बुझाइअनुसार मंसिर ४ मा हुने आम निर्वाचनअघि नेपालले कुनै निर्णय गर्ने सम्भावना छैन,’ जनरल पाण्डेलाई उद्धृत गर्दै पत्रिकाले उल्लेख गरेको छ।
यो योजना अन्तर्गत ४ वर्ष सेवा गरेपछि एकमुस्ट ११ लाख ७० हजार भारु लिएर निस्कन पाउने व्यवस्था छ, जसलाई भारत सरकारले 'सेवा निधि ' योजना भनेको छ।
'थप छलफल आवश्यक'
यसै बीच एएनआइ समाचार एजेन्सीसंग कुरा गर्दै भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले नेपालमा अहिले निर्वाचनको समय भएको र राजनीतिक दलहरुले यस विषयमा छलफल गरि रहेको बताए। 'उहाँहरु छिट्टै एउटा टुंगो मा पुग्नु हुन्छ भन्ने मैले विश्वास लिएको छु,' उनले भने।
राजदूत डा शर्माले नेपाल, भारत तथा बेलायत बीच सन् १९४७ मा गरिएको त्रिपक्षीय सन्धि अनुसार नै भारतीय सेनामा गोर्खा भर्ती हुने गरेकोमा चार वर्ष पछि ७५ प्रतिशत सैनिक जवानलाई घर पठाउने प्रावधान र त्यसको असरका बारेमा थप छलफल आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।