काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति आक्रोश व्यक्त गरेका छन्। मंगलबार पोखरामा लोकतान्त्रिक तमु संघको अधिवेशनमा सम्बोधन गर्दै उनले गठबन्धलाई ‘अवैध सन्तान’ भएको आरोप लगाए।
‘यो अपवित्र साँठगाँठ, अपवित्र गठबन्धन, गलत मनशायले कसले बनाएको हो। यो अवैध सन्तान कसको हो थाहा छैन अहिलेसम्म’, उनले भने, ‘अदालतको प्रांगणमा भेटिएको हो यो। तर, यो अवैध सन्तान कसको हो। जनताको त होइन। नेपाली जनताले त बनाएका थिएनन् यसलाई।’
ओलीले गठबन्धनले देशलाई बर्बादीतर्फ लगिरहेको दाबी गरे। गठबन्धनकै कारण राजनीति विकृतितिर गएको उनको भनाइ छ।
त्यस्तै, उनले गठबन्धनलाई आपराधिक उद्देश्यका लागि परमादेशबाट जन्मिएको आरोप पनि लगाए। ‘आपराधिक उद्देश्यका लागि परमादेशबाट जन्मिएको यो गठबन्धन। यो वास्तवमा जनादेशबाट आएको होइन। यस्तो सरकार जसले परराष्ट्र सम्बन्ध बिगारिरहेको छ। राष्ट्रियतामा खतरा पुर्याइरहेको छ। राष्ट्रिय हितलाई गम्भीर ढंगले कुठाराघात गरिरहेको छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।