काठमाडौं– महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जित हो।
भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ। यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन्।
भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन्। डाङमेई ग्रेसले थप दुई गोल गरिन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल थपे। खेलको २४औं मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन। खेलको ४२औं मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्।
यसैगरी खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन्।
खेलको ५३ औं मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो। खेलको ५५औं मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन्। खेलको ८४ औँ मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो। खेलको ८५ औं मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ८७ औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइन्। त्यसपछि खेलको ८८औँ मिनेटमा अन्जुले व्यक्तिगत चौँथो गोल गर्दै भारतलाई ९–० को जीत दिलाइन्।
अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्नेछन्। सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।