काठमाडौं– राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई भारी गोलअन्तरले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे । खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बङ्गलादेशलाई पहिलो अग्रता दिलाइन् ।
त्यस्तै खेलको २८औं मिनेटमा शोप्नाले गोल गर्दा बङ्गलादेश २-० ले अघि रह्यो । त्यसपछि खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन । खेलको ३५औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बङ्गलादेश ४–० ले अघि रह्यो । खेलको ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
खेलको ७७औं मिनेटमा रितुले गोल गर्दै बङ्गलादेशलाई ६-० को जित दिलाइन् । बङ्गलादेशको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा बङ्गलादेशले माल्दिभ्सलाई ३-० ले हराएको थियो । पाकिस्तानको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पाकिस्तानले भारतसँग ३-० गोलको हार व्यहोरेको थियो ।
यस जितसँगै समूह ‘ए’मा रहेको बङ्गलादेशले ६ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पाकिस्तान दुई खेलमा अङ्क विहीन रहँदै पुछारमा रहेको छ । प्रतियोगिताअन्तर्गत नै आज हुने दोस्रो खेलमा समूह ‘बी’मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।