काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाअराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौंमा विधिवत् रुपमा सुरु भएको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि सुरु भएको हो।
यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
भाद्र शुक्ल चतुर्दशीका दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा अवलोकनका लागि राष्ट्र प्रमुख, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, मन्त्री, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता थियो। विशिष्ट व्यक्तित्वले गद्दी बैठकबाट जात्राको अवलोकन गरेका छन्।
सो अवसरमा राष्ट्र प्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा अवलोकन गरिन्। उनले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन गरिन्।
यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । परम्परागत इन्द्रजात्रा काठमाडौंमा मात्र नभइ ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।