काठमाडौं– बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि इंग्लिस प्रिमियर लिगका खेल एक साताका लागि स्थगित गरिएको छ ।
महारानीको सम्मान स्वरुप प्रिमियर लिगका सम्पूर्ण खेल एक साताका स्थगित गर्ने निर्णय गरिएको प्रिमियर लिगले जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले एक साताका लागि लिगका सम्पूर्ण फुटबल प्रतियोगिता स्थगित गरिएको उल्लेख गरेको हो ।
प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले भने, ‘हामी र हाम्रा क्लबहरु महामहिमको लामो र अटल सेवाका लागि श्रद्धाञ्जली दिन चाहान्छौं ।’
९६ वर्षीय महारानीको स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा निधन भएको छ । दुई दिनपहिले मात्रै महारानीले बाल्मोरल दरबारमै लिज ट्रसलाई नयाँ ब्रिटिश प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिइन्।
बिहीबार बेलुका टेन डाउनिंग स्ट्रीट बाहिर उभिएर ट्रसले महारानीप्रति श्रद्धाञ्जली व्यक्त गरिन्। उनको ७० वर्ष लामो शासनकालमा बेलायतमा १५ जना प्रधानमन्त्रीहरु नियुक्त भएका थिए। १७ महिनाअघि (अप्रिल २०२१)मा ९९ वर्षको उमेरमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो।
आफ्ना पति प्रिन्स फिलिपसँग महारानी एलिजाबेथ द्वितीयले सन् १९६१ र १९८६ मा नेपालको भ्रमण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।