काठमाडौं– छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। बंगलादेशको जितमा कप्तान सविना खातुनले दुई गोल गरिन् भने मसुरा प्रभिनले एक गोल गरिन्। खेलको ३२औं मिनेटमा बंगलादेशकी कप्तान खातुनले गोल गर्दै सुरुआती अग्रता दिलाएकी थिइन्।
यसैगरी खेलको ३४ औँ मिनेटमा मसुराले थप एक गोल गर्दा बंगलादेशले २–० को अग्रता बनायो। त्यसपछि खेलको ४० औँ मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को सहज जित दिलाइन्। यस जितसँगै समूह ए मा रहेको बंगलादेशले शीर्ष तीन अंक जोडेको छ।
त्यसैगरी यसै समूहको आजै भएको पहिलो खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। समूह चरणको खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।