धनगढी- ‘कैलाली–१ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी हनेछु’ भन्दै भदौ ८ गते लम्की नगरपालिकाको बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेकी नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले उम्मेदवारी घोषणा गरिन्।
प्रतिनिधिसभा सदस्य एवं टीकापुर घटनाको मुख्य आरोपित मानिएका रेशम चौधरी पत्नी रञ्जिताले उम्मेदवारी घोषणा गरेपछि सो निर्वाचन क्षेत्र अहिले चर्चामा छ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलाली निर्वाचन क्षेत्र २०७४ सालको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पनि चर्चामा रहेको थियो। टीकापुर घटनाका मुख्य आरोपित रहेका रेशम फरार सूचीमा हुँदा पनि राष्ट्रिय जनता पार्टीबाट उम्मेद्वार बनी निर्वाचनमा भाग लिएका थिए। हाल राष्ट्रिय सभा सदस्य रहेकी एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाही तत्कालीन समयमा नेकपा (एमाले)बाट र नेपली कांग्रेसकी केन्द्रीय सदस्य इश्वरी न्यौपाने निर्वाचनमा उम्मेद्वार थिइन्।
दलहरुले प्रत्यक्ष रुपमा प्रचार–प्रसार गरेपनि चौधरी भने निर्वाचन क्षेत्रमा नपुगेरै निर्वाचनमा विजयी भएका थिए। कैलाली– १ मा ९६ हजार तीन सय ७२ मतदाता रहेकोमा ६४ हजार तीन सय ३९ मत खसेको थियो। जसमध्ये रेशमले ३४ हजार तीन सय ३१ मत प्राप्त गरेर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी शाहीले १३ हजार चार सय छ र नेपाली कांग्रेसकी न्यौपानेले ११ हजार दुई सय तीन मत प्राप्त गरेका थिए।
कैलाली–१ मा टीकापुर नगरपालिकाका नौ वटै वडा, जानकी गाउँपालिकाका वडा १, ३, ४, ६ र ७, जोशीपुर गाउँपालिकाका ७ वटै वडा र भजनी नगरपालिकाको वडा ६ र ८ पर्दछन।
भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन घोषणा हुनु तीन महिनाअघि रेशम पत्नी रञ्जिताको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता भयो। स्थानीय तहको निर्वाचनमा रेशम प्रभाव क्षेत्र एवं थारु बाहुल्य टीकापुर, भजनी नगरपालिका तथा जानकी, जोशीपुर र कैलारी गाउँपालिका बढी चासोका साथ हेरिएको थियो।
सो पार्टीले स्थानीय तहको निर्वाचनमा कैलारी गाउँपालिकाबाहेक अन्य चार स्थानीय तहमा आफनो प्रभाव बढाएको छ। भजनी नगरपालिकाको उपप्रमुखबाहेक तीन स्थानीय तहमा प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षसँगै वडामा पनि आफनो प्रभाव बढाएको दाबी छ।
स्थानीय तहको निर्वाचनमा वडागत मतपरिणाम हेर्दा सो निर्वाचन क्षेत्रमा सो पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। नागरिक उन्मुक्ति पार्टीले १४ हजार दुई सय ६९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ११ हजार चार सय ८८ मत प्राप्त गरेको छ। एमालले आठ हजार एक सय ४९ र माओवादी केन्द्रले पाँच हजार एक सय चार मत प्राप्त गरेको छ।
मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सो पार्टीले ठूला दलहरुलाई पछि पार्ने तयारीमा प्रचार–प्रसारसंगै संगठन विस्तारमा जोड दिँदै आएको छ।
कैलाली–१ बाट नेपाली कांग्रेसका नेता रामजनम चौधरी र इश्वरी न्यौपाने पनि प्रतिनिधि सभाको निर्वाचनमा लड्ने दाउमा छन्। प्रतिनिधिसभाका लागि एमालेबाट सम थापा, तपेन्द्र रावल र शिलु खतिवडालाई सिफारिस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।