काठमाडौं– हाल देशका अधिकांस स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। यस्तै काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भएको छ।
वर्षा हुने क्रम अहिले पनि जारी रहेकोले बिहान ८ बजेसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई सतकर्तता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।
केन्द्रका अनुसार विष्णुमती जलाधारको जितपुर र आसपास, तथा बल्खु नदी जलाधारमा भारी वर्षा भएको छ।
विष्णुमतीमा जलसतह सतर्कता तह आसपास पुगेको छ। विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा जान सक्ने भएकाले बिहान ८ बजेसम्म किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउँन केन्द्रले आग्रह गरेको छ।
आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।