काठमाडौं– शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ। विशेष साधारण सभा अनामनगर स्थित कम्पनीको सभाहलमा कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा आज सम्पन्न गरिएको हो।
सभाले सञ्चालक समितिको निर्णयबमोजिम सभासमक्ष प्रस्तुत गरिएका सबै विशेष प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ।
विशेष साधारण सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धी सबै विशेष प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन्।
संशोधनपश्चात कम्पनीको संचालक समितिको संख्या ६ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढीढ शेयरधनीहरुको उपस्थितिमा साधारण सभा संचालन गर्न सकिने गरी नियमावली बनाइएको छ।
सर्वसाधारणका लागि आई.पि.ओ. निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओ.पि.सि मात्र उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. 'क्वालिटी अवार्ड–२०१९' प्रथमबाट पुरस्कृत समेत भएको थियो।
व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौं संरचना निर्माणमा शिवम्ले विगत लामो समयदेखि उत्पादनमार्फत उल्लेख्य भूमिका निर्वाह गर्दै आइरहेको कम्पनीकाे दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।