काठमाडौं– सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यही भदौ १५ गतेदेखि प्रतिकित्ता एक सय अंकित मूल्यमा तीन करोड ९३ लाख ७५ हजार मूल्य बराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको हो।
कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कूल जारी पुँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् पाँच हजार चार सय ७० कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख ६८ हजार ५९० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ।
सर्वसाधारणले यही भदौ १९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नआए भदौ २९ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।
नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत् ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सक्ने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।