काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले आह्वान गरेको नेपाल बन्दको तराईंका जिल्लामा केही प्रभाव देखिएको छ।
केही जिल्लाम बन्दकर्ताले शंकास्पद बस्तु राखेका छन् भने दाङमा एउटा टिपरमाथि नै आगजनी भएको छ। यद्यपि दाङमा टिपरमाथि भएको आगजनीमा बन्दकर्ताको संलग्नता रहेको विषय भने पुष्टि हुन सकेको छैन।
दाङको घोराही उपमहानगरपालिका–३ बबइ पुल नजिकै रा १ ख १६९४ नम्बरको टिप्परमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
मंगलबार बिहान ५ बजे आगलागी भएको घटना थाहा पाएर घटनास्थलमा पुगेको प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको छ।
नेपाल बन्दको घोषणा गरेको विप्लव नेकपाका दाङ जिल्ला इञ्चार्ज शितललाई सम्पर्क गर्दा उक्त घटनामा आफूहरुको हात नरहेको बताएका छन्। घटना शंकास्पद रहेको भन्दै प्रहरीले टिपरका चालकलाई नियन्त्रणमा लिएको छ।
बन्दका कारण दाङमा लामो तथा छोटो दूरीका सवारीसाधनरु गुड्न नसकेका दाङ सहकर्मी प्रिया स्मृती गजमेरले जानकारी दिएका छन्। गजमेरका अनुसार दाङका मुख्य शहर घोराही, तुल्सिपुर, लमही, भालुबाङ मंगलबार बिहानदेखि सुनसान छन्।
कैलालीमा भने २ ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। गोदाबरी नगरपालिकाअन्तर्गत अत्तरिया–धनगढी सडकको मोहना पुलनजिक र पूर्वपश्चिम राजमार्गको हरैयानजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले अत्तरियाको मोहना पुल नजिक कपडामा बेरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको छ। यस्तै, हरैयामा प्रेसर कुकर बमजस्तो देखिने वस्तु भेटिएको डीएसपी जोशीको भनाइ छ।
शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जानकारी दिएको छ।
सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको हो।
विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन्। अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।