काठमाडौं– सनराइज बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष, काठमाडाैंबीच व्यावसायिक सम्झौता भएको छ। कर्जा सुरक्षण नियमावली, २०७५ (दोस्रो संशोधन) को अधीनमा रही सम्झौता भएको हो।
निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडाैंको कार्यालयमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच लघुवित्त तथा विपन्न वर्ग क्षेत्र कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा तथा निक्षेप तथा कर्जा सुरक्षण कोष काठमाडौका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार सनराइज बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिनाधितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. दश लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु. सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रू. २० लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रति व्यक्ति रु. १० लाखसम्म र कोषको पूर्वसहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी (वा व्यक्तिगत वा सामूहिक जमानीमा) लगानी गर्ने रु. १५ लाख रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।
यस सम्झौता पश्चात् निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत लघुवित्त तथा विपन्न वर्ग कर्जा तथा कोषले तोकेको व्यवसाय क्षेत्रमा सनराइज बैंकले लगानी गरिएका कर्जाको जोखिम न्यूनीकरण हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।