काठमाडौं– झापाको अनलाइन जुवा अखडामा प्रहरीले छापा मारेको छ। झापाका विभिन्न ठाउँहरुमा अनलाइनमार्फत जुवा खेलाउने गरेको पाइएपछि प्रहरीले छापा मारेको हो। छापा मारेर ४ जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरुमा पद्या इन्टरनेशनल कन्सलटेन्सीका सञ्चालक दमक नगरपालिका–८ का २५ वर्षीय सतप्रकाश साह, सोही कन्सलटेन्सीका अर्का सञ्चालक दमक–७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक झापाको कमल गाउँपालिका–२ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेनटर दमकका सञ्चालक दमक नगरपालिका–८ का ३३ वर्षीय राजु लिम्बू छन्।
उनीहरुले अन्य व्यक्तिको नागरिकताबाट एनसेलको सिम निकालेर उक्त सिमको प्रयोग गरी वान एक्स बेट एप्लिकेशनमार्फत अनलाइन जुवा खेलाएको झापा प्रहरीका प्रवक्ता डएिसपी वसन्त पाठकले जानकारी दिए।
अनलाइन जुवाका लागि आवश्यक पर्ने रकम ईसेवामार्फत् कारोबार गर्ने र कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुलाई प्रयोग गरेर जुवा खेलाउन गरेको प्रहरीको दाबी छ। यो गिरोहले सरकारी कार्यालय तथा जनप्रतिनिधिहरुका छाप नक्कली बनाउनेदेखि एसईईको सर्टिफिकेट समेत नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुविरुद्ध ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसुर र परिच्छेद २५ को लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको छ।
पक्राउ परेका मध्ये सतप्रकाशले जुवा खेलाउनका लागि अन्य व्यक्तिको नामबाट सिमकार्ड निकाल्ने, उक्त सिममार्फत इसेवा आईडी खोल्न लगाएर त्यसमार्फत पैसाको कारोबार गर्ने गरेको पाइएको छ। सतप्रकाशको ईसेवा आइडीबाट मात्रै ८० लाख भन्दा बढीको कारोबार भएको खुलेको छ।
राजु श्रेष्ठले, राज लिम्बू र अरुण कार्कीले भने कन्सल्टेन्सीमा आउने विद्यार्थीहरु प्रयोग गरी नक्कली छाप, सरकारी कागजात बनाउने गरेको पाइएको छ। उनलाई भदौ ३ गते दमक नगरपालिका–८ बाट पक्राउ गरिएको हो।उनीहरुबाट प्रहरीले मोबाइल, ल्यापटप, डेक्सटप, एनसेलका सिमलगायतका समानहरु बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।