काठमाडौं– पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरिएको छ। उनीविरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोपमा पाकिस्तान प्रहरीले छानबिन थालेको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा खानले प्रहरी र न्यायपालिकाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए।
खानविरुद्ध छानबिन सुरु भएसँगै समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन्। उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति "नियन्त्रणमा लिने" बताएपछि देशमा तनाव चुलिएको छ।
गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन्।
क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लगाएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्।
शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरेका थिए।
पाकिस्तानको सञ्चारमाध्यमका नियामक संस्थाले खानलाई राज्य संस्थाहरू विरुद्ध घृणा फैलाउने किसिमको भाषण गरेको आरोप लगाउँदै टीभी च्यानलहरूलाई उनको भाषण प्रत्यक्ष प्रसारण गर्न प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।
सरकारले आफूमाथि प्रतिबन्ध लगाउन खोजेको पूर्व प्रधानमन्त्री खानको दाबी छ। आइतवार उनले रावलपिन्डी सहरमा आयोजित अर्को राजनीतिक र्यालीको क्रममा आफ्नो भाषणमाथि प्रतिबन्धको आलोचना गरेका थिए। - एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।