काठमाडौं– पोखरामा एनएमबी र एनआईसी एसिया बैंकको एटिएम बुथ फुटाएर रकम चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका–५ घर भएका २१ वर्षीय अनिस तामाङ छन्।
उनलाई रुपन्देहीको बेलहियास्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी सुन्दर तिवारीले बताए।
साउन ३ गते राति पौन २ बजे पोखराको अर्घौ चोकमा रहेको एनएमबी बैंकको एटिएम बुथ फुटाएर रकम चोरी भएको थियो। एनएमबीबाट रकम चोरे लगत्तै २ बजेर ८ मिनेटमा पोखराकै तालचोकमा रहेको एनआईसी एसिया बैंकको एटिमएम बुथ फुटाएर पनि रकम चोरी भएको थियो।
एटिमएम बुथ फुटाएर रकम चोरी भएको सूचना पाएपछि अनुसन्धानमा खटिएको टोलीले चोरी कार्यमा एउटै हुलिया भएको मानिस संलग्न भएको तथ्य फेला पारेको थियो।
दुबै घटनामा ग १० प २९६३ नम्बरको मोटरसाइकलमा आएका व्यक्ति हेल्मेट लगाएर एटिएम बुथभित्र प्रवेश गरेर फुटाएको देखिएको थियो। एकै रात दुई वटा एटिएम बुथ फुटाएर रकम चोरी गरेका उक्त व्यक्तिलाई एक महिनापछि भदौ २ गते प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका तामाङले एटिएम बुथ फुटाउनु अघि मोटरसाइकल चोरी गरेर र उक्त मोटरसाइकलको प्रयोग गरेर एटिएम फुटाएर रकम चोरी गरी फरार भएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका तामाङलाई चोरी तथा डाँका कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।