काठमाडौं– पछिल्लो समय बैंकका एटिएम बुथ फोडेर रकम चोरी हुने घटना बढेको भन्दै सुरक्षित राख्न प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गरेको छ।
एटिएम मेसिन फोडेर चोरी हुने क्रम बढेकाले आफू मातहत तथा आफ्नो क्षेत्रको एटिएम बुथलाई सुरक्षित राख्न भन्दै हेडक्वाटरले परिपत्र गरेको हो।
यस सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले बैंक तथा बैंकका शाखाहरुसँगसमेत समन्वय गरेर काम गर्न निर्देशन दिइएको छ।
कास्कीमा साउन ३ गते एकै दिन एनएमबी र एनआईसी एसिया बैंकका एटिएम बुथ फोडेर रकम चोरी भएको थियो। उक्त घटनामा एटिएम मेसिन भेण्डरको प्रतिवेदनमा एनएमबी बैंकको एटिएम मेसिनको चाबी पूर्ण रुपमा बन्दसमेत नभएको उल्लेख गरिएको थियो।
त्यसपछि प्रहरी हेडक्वाटरले एटिएम बुथ सुरक्षार्थ देशभरका प्रहरी कार्यालयलाई परिपत्र गरेको हो। चाडबाड नजिकिएसँगै एटिमएम बुथ फोडेर चोरी हुने घटनामासमेत वृद्धि हुनसक्ने भन्दै चनाखो हुन हेडक्वाटरले निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।