काठमाडौं– सुन तस्करी प्रकरणमा मुछिएपछि गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) तानिएका छन्।
कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। राईले नेपाल लाइभसँग भने, ‘तस्करी गरेर ल्याएको सुन काण्डमा मुछिएको आरोप लागेपछि जिम्मेवारीविहीन बनाएर छानबिन सुरु गरिएको छ।’
डीआईजी राईका अनुसार कार्कीमाथि छानबिन गर्न उजुरी छानबिन शाखाबाट १ जना डीएसपीको कमाण्डमा टोली समेत बनाइएको छ। उक्त टोलीले छानबिन गरेर दोषी देखिएको प्रमाण पेस गरेमा कार्कीलाई कारबाही गर्ने तयारी हेडक्वार्टरको छ।
दुबईबाट सुन तस्करी गरेर ल्याएको आरोप लागेका एक व्यक्तिलाई थुनामा राखेर उनीसँग भएको ४ लाख रुपैयाँ गायब पारिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी परेपछि उनीमाथि छानबिन अघि बढाइएको हो।
कार्कीले ती व्यक्तिलाई असार १६ गते प्रहरी वृत्त गौशालाम थुनाएको र उनीसँग भएको ४ लाख रुपैयाँ समेत गायब बनाएको आरोप लागेको छ। ती व्यक्ति असार २७ गते थुनामुक्त भएका थिए।
सुन तस्करको समूहले दुबईबाट ६ जनालाई ५० ग्रामको दरले सुन बोकाएर काठमाडौं पठाएको थियो। तीमध्ये १ जना पक्राउ परेका थिए भने बाँकी ५ जना सहजै विमानस्थलको जाँच पास गरेर बाहिरिएका थिए।
दुबईबाट तस्करले भने अनुसार नै विमानस्थलको जाँच पास भएपछि ५ जनाले उक्त सुन सम्बन्धित व्यक्तिलाई दिएका थिए। तर ती व्यक्तिबाट पनि अर्को मान्छेले पाउनुपर्ने सुन नपाएपछि दुबईबाट सुन तस्करले वरिष्ठ सई कार्कीलाई फोन गर्दै घटनाबारे बताएका थिए।
त्यसपछि वरिष्ठ सई कार्कीले ती व्यक्तिलाई पक्राउ गरेर गौशाला वृत्तमा थुनाएको र ४ लाख रुपैयाँ समेत गायब बनाएको आरोप लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।