काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकहरूबाट एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ।
गत असार महिनाको ३२ गतेदेखि साउन ३१ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरूको निक्षेप एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल बैंकर संघले जानकारी दिएको छ।
गत असार ३२ गतेसम्म वाणिज्य बैंकहरूमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो। उक्त निक्षेप साउन ३१ गतेसम्म आइपुग्दा ४४ खर्ब ३३ अर्ब रुपैयाँमा सीमित बनेको छ। यस महिनाको अवधिमा एक खर्ब ८ अर्ब रुपैयाँ निक्षेप घटेको हो।
असार ३२ गतेदेखि साउन ६ गतेसम्मको अवधिमा ६३ अर्ब रुपैयाँले निक्षेप घटेको थियो ।
त्यस्तै, साउन ६ गतेदेखि १३ गतेसम्म २८ अर्ब, साउन १३ गतेदेखि २० गतेसम्म ४ अर्ब र साउन २० गतेदेखि २७ गतेसम्मको अवधिमा २५ अर्ब रुपैयाँले वाणिज्य बैंकहरूको निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। साउन २७ गतेदेखि ३१ गतेसम्मका अवधिमा वाणिज्य बैंकहरूमा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो महिना साउन महिनामा कर्जा प्रवाह दुई अर्ब रुपैयाँले बढेको छ।
असार ३२ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। उक्त कर्जा प्रवाह साउन ३१ गतेसम्म आइपुग्दा दुई अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।