काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुकुम पश्चिमको मुसिकोट सेरिगाऊँस्थित यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई सहयोग गरेको छ।
बैंकले विद्यालयलाई बेन्च र डेस्कको व्यवस्थापनका लागि चार लाख ६९ हजार ९१० रूपैयाँ आर्थिक सहयोग गरेको हो। बैंकको सीआरएस समितिका तर्फबाट सदस्य डा. गणेश राज गुरुङले विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्रराज गौतमलाई उक्त चेक हस्तान्तरण गरे।
यो सहयोगले विद्यालयको समष्टिगत विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। कार्यक्रममा बैंकका बजार विभाग प्रमुख पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो।
बैंकले शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, साँस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।
बैंकले देशभर ११८ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५२ एटीमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।