काठमाडौं– फुटबलमा सफलताको पहिलो श्रेय प्रशिक्षकलाई जाने भएपछि असफलताको अपजस पनि निश्चित रुपमा उनकै टाउकोमा हुन्छ। त्यसैले व्यवसायिक फुटबलमा राम्रो नतिजा दिन नसके प्रशिक्षकको बर्खास्तीको बाटो रोजिन्छ। यही बाटो पार गरिसकेका प्रशिक्षकमध्ये एक हुन्, नेपाली मुलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईं।
पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीलाई राम्रो नतिजा दिलाउन नसकेपछि हुमागाईंलाई बर्खास्त गरिएको थियो। त्यसपछि गुमगाम रहेका उनले सोही प्रतियोगिताको दोस्रो संस्करणमा झापा एफसीको प्रशिक्षक बनेर स्वदेश फर्किने मौका पाए। समय ठिक चलिरहेको भए अहिले उनी झापाको प्रशिक्षकको जिम्मेवारीमा ‘टचलाइन’ सम्हालिरहेका हुन्थे। तर, उनले सोचेजस्तो भएन।
झापाको प्रशिक्षकभन्दा अगाडि उनी नेपाली राष्ट्रिय फुटबल टोलीको कार्यवाहक प्रशिक्षकको भूमिकामा नेपाल फर्किएका छन्। जुन नेपाली फुटबलको लागि अप्रत्याशित घटनाभन्दा कम छैन। अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको टसल होला र आफूलाई यति चाँडै नेपाली टोली सम्हाल्ने दशैंको ‘चिठ्ठा’ पर्ला भनेर पक्कै उनले पनि सोचेका थिएनन् होला।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भेटिएका हुमागाईंको हाउभाउले पनि यही बताइरहेको थियो। हतासमा देखिएका उनले यो कुरालाई अस्वीकार गरिहाल्न पनि सकेनन्। उनी भन्दै थिए,‘कर्मभूमिबाट सबै काम छाडेर फर्किएर जन्मभूमिको सेवा गर्न आएको हुँ। यसलाई मैले एक प्रोसेसको रुपमा लिएको छु।’
हो, उनले भनेको जस्तै सबै काम छाडेर नेपाल नआएको भए उनको जिम्मेवारी अरुले पाउने निश्चित थियो। जब एन्फामा नयाँ नेतृत्व आयो तबदेखि नै मुख्य प्रशिक्षक अल्मुताइरीको विकल्प खोज्ने निष्कर्षमा पुगिसकेको थियो। त्योभन्दा अगाडि मुख्य प्रशिक्षक अल्मुताइरीसँग हालका अध्यक्ष पंकजविक्रम नेम्वाङसँगको असम्झदारी र सिर्जित घटनाले पनि नयाँ नेतृत्व उनीसँग काम गर्न इच्छुक थिएन।
त्यसमाथि कप्तान किरण चेम्जोङसहित ११ सिनियर खेलाडीको ‘विद्रोह’ले गर्दा हुमागाईंलाई नेपाली टोलीको कार्यवाहक प्रशिक्षक बन्ने ढोका खोल्दियो। हुन त नेपालमा हुमागाईंभन्दा अब्बल एएफसी ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक पनि नभएका होइनन्। तर, प्रश्न उठ्छ उनैलाई किन प्रशिक्षक बनाइयो?
उनी यसको उत्तर दिँदै भन्छन्,‘यसबारेमा पनि मलाई खासै जानकारी भएन। मेरो व्यक्तिगत रुपमा नेपालमा भएका प्रशिक्षकहरुप्रति एकदमै ठूलो सम्मान छ। उहाँहरुसँग पनि क्षमता र प्रतिभा छ। उहाँहरु पनि कहिलेकाहिँ हाम्रो ट्रेनिङ हेर्न आइदिएर अनुभव सेअर गरेमा राम्रो हुनेछ।’
हुमागाईंले राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाल्न लागेको यो पहिलो पटक हो। क्लब करिअरमा पनि उनी त्यति उम्दा खेलाडी र प्रशिक्षक मानिँदैनन्। विद्यार्थी राजनीतिमा सक्रिय रहँदा लहैलहैमा सिकेको फुटबलबाट उनले दुई वर्ष रानीपोखरी कर्नर टिम (आरसीटी)को जर्सी लगाए। तर, उनी खेलाडीको रुपमा सोचेअनरुप जम्न सकेनन्।
हुमागाईंले विस्तारै खेलाडीभन्दा प्रशिक्षकमा ध्यान केन्द्रित गर्दै गए। उनले आरसीटीको जर्सी फुकालेर काठमाडौं क्लबलाई चार वर्ष प्रशिक्षण दिए। प्रशिक्षककै रूपमा सन् २००४ देखि ०७ सम्म उनले काठमाडौं शिक्षा कलेज र ०८ देखि सन् १० सम्म त्रिभुवन विश्वविद्यालयको टोली पनि हेरे।
०११-१२ को सिजनमा हिमालयन शेर्पा क्लबको स्वयंसेवक प्रशिक्षकका रुपमा तत्कालीन प्रशिक्षक उपेन्द्रमान सिंहलाई सघाए। सिंहको छत्रछायामा हुमागाईंको प्रशिक्षण कलामा थप निखार आउन सुरु भयो।
फुटबलकर्मीसँग नजिकको सम्बन्ध बनाएका उनी एन्फाका तत्कालीन उपाध्यक्ष एवं थ्री स्टार क्लबका अध्यक्ष ललितकृष्ण श्रेष्ठको सम्पर्कमा पुगे। श्रेष्ठले उनलाई २०६९ भदौंमा थ्री स्टारको सहायक प्रशिक्षकको रुपमा क्लबमा भित्र्याए। त्यतिबेला थ्री स्टारको प्रशिक्षक थिए, मेघराज केसी। जो अहिले नेपालको यू–२० टोली सम्हालिरहेका छन्।
हुमागाईंलाई केसीको नेतृत्वमा धेरै सिक्ने अवसर थियो। तर, उनी आबद्ध भएको केही समयमै ‘एनसेल कप’मा थ्री स्टारले समूह चरणका दुई खेलमा सन्तोषजनक नतिजा ल्याउन सकेन। पहिलो खेलमा मध्यपुर युथ एकेडेमीसँग बराबरीमा रोकिएको थ्री स्टार दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भयो।
फेन्ड्ससँग पराजित भएसँगै तत्कालीन प्रशिक्षक केसीले राजीनामाको घोषणा गरे। त्यसपछि हुमागाईंको दिन फिर्यो। कार्यवाहक प्रशिक्षक भएपछि हुमागाईंको नेतृत्वमा थ्री स्टार समूह चरणको तेस्रो खेलमा एपीएफसँग बराबरी खेल्दै प्रतियोगिताबाट बाहिरियो। उक्त प्रतियोगिताबाट क्लबमा बाहिरिए पनि उनकै प्रशिक्षणमा थ्री स्टारले २०१२–१३ को शहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्यो र उपाधि जित्यो। तर, त्यो उपाधि जित्न स्टार खेलाडीको भूमिका अतुलनिय रह्यो।
त्यसपछि हुमागाईंको फुटबल प्रशिक्षणको बाटो साधारण सडकबाट ‘हाइवे’मा मोडियो। फुटबल वृत्तमा पनि उनको प्रशिक्षण यात्रा थप फराकिलो बन्दै गयो। त्यही वर्ष थ्री स्टारले मोफसलको आहा रारा गोल्डकप र उदयपुर गोल्डकपमा पनि उपाधि जित्यो। एएफसी प्रेसिडेन्ट्स कप, नर्वे कप र अल इन्डिया गभर्नस गोल्ड कपमा पनि उनको टोलीले राम्रो खेल प्रदर्शन गर्यो।
यिनै उपलब्धिलाई निजिकैबाट नियालिरहेका नेपाली राष्ट्रिय टोलीका तत्कालीन सहायक प्रशिक्षक रिचर्ड ओर्लोस्की उनलाई किस्टोन एथ्लेटिक क्लब सम्हाल्ने मौका जुराइदिए। यसबीचमा उनी बेलाबखत नेपाल आइरहन्थे।
‘म किस्टोन एथ्लेटिकमा प्रशिक्षकको रुपमा छु। त्यहाँ प्रशिक्षण गरेको ९-१० वर्ष भइसक्यो। नेपाल मेरो सधैं पहिलो प्राथमिकतामा हुन्छ। त्यो क्लबले पनि बाहिर राम्रो अवसर पाउँनेबित्तिकै जाउ भन्छ। त्यसैले मैले सबै छाडेर आएको हुँ,’ हाल काठमाडौंमा रहेका उनी भन्छन्।
उनी पछिल्लोपटक २०७७ मा नेपाल सुपर लिगको पहिलो संस्करणमा ललितपुर सिटी एफसी सम्हाल्न स्वदेश फर्किएका थिए। थ्री स्टार छाडेपछि उनले सिनियर टोली हेरेको यो नै पहिलो पटक थियो। तर, उनको नेतृत्वमा थ्री स्टारजस्तो ललितपुरले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन। र, उनी सिजन सकिनु अघि नै बर्खास्तीमा परे।
ललितपुरको खेलमा हुमागाईं मुख्य प्रशिक्षक भए पनि ‘टचलाइन’मा उनको उपस्थिति बिरलै देखिन्थ्यो। खेलमा अधिकांश समय सहायक प्रशिक्षक राजु तामाङ नै ‘टचलाइन’ सम्हालिरहेका देखिन्थे। टोलीको रणनीति मैदानमा उतार्ने जिम्मेवारी पनि तामाङले नै पाएका थिए। तर, हुमागाईंको योजना, रणनीति र अमेरिकी क्लबको अनुभव काम लागेन।
यद्यपि, ललितपुरबाट दु:खद् बहिर्गमन भोगे पनि उनको मन भने नेपाली फुटबल वरिपरि नै घुमिरह्यो। बिहीबार पत्रकारहरुसँगको अन्तरक्रियामा पनि उनको त्यो भाव प्रष्ट झल्किन्थ्यो। हुन त नेपाली फुटबलमा केही न केही ठूलो जिम्मेवारी लिने उनको इच्छा थियो। यसअघि उनी नेपाली महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पनि चाहन्थे।
एन्फाका तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा र आफूले भन्न मिल्ने सबै ठाँउसम्म उनले त्यो जिम्मेजारी दिलाइदिन आग्रह नगरेका पनि होइनन्। त्यसैक्रममा उनको एन्फा कर्मचारीसँग विवादसम्म भयो। तर, एन्फाले एएएफसी (एसियाली फुटबल महासंघ) को सहयोगमा ग्यारी फिलिप्सलाई महिला टोलीको प्रशिक्षक नियुक्त गर्यो र तत्काल उनका लागि ढोका बन्द भयो।
यद्यपि, त्यो बेला उनको लागि ढोका बन्द भए पनि शेर्पा नेतृत्वकै कारण पुन: ढोका खुल्न पुग्यो। शेर्पा नेतृत्वले नै सिनियर खेलाडी र प्रशिक्षकसँगको विवाद सुल्झाउन नसक्दा हुमागाईंले नेपाली फुटबलमा नसोचेकै छलाङ मारे। उनी यतिखेर नेपाली समर्थकहरुमाझ मुख्य प्रशिक्षक अल्मुताइरीले छाडेको छाप मेटाउने प्रयत्न गरिरहेका छन्।
त्यसैले पनि होला उनी मुख्य प्रशिक्षक अल्मुताइरीभन्दा प्रशिक्षणको मामिलामा ठिक ३६० डिग्रीमा उभिएका छन्। उनी मुख्य प्रशिक्षक अल्मुताइरीजस्तो बन्द प्रशिक्षण नदिने र सञ्चारकर्मीलाईसमेत नजिकबाट प्रशिक्षण नियालेर सल्लाह सुझाव लिने तयारीमा छन्।
जे होस् उनलाई बंगलादेशसँगको एक मैत्रीपूर्ण खेलकै लागि भएपनि एन्फाले दशैंको बेला चिठ्ठा दिलाइदिएको छ। यो चिठ्ठालाई सही तरिकाले सदूपयोग गरे उनले हाल कुमार थापाले हेरिरहेको महिला टोलीको जिम्मेवारी पनि हत्याउन सक्छन्। त्यसै पनि उनी एन्फा नेतृत्वको नजिक मानिन्छन्। त्यसैले उनले असोज ११ गतेको चिठ्ठालाई कसरी प्रयोग गर्छन् त्यो हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।