काठमाडौं– फेसबुकमार्फत चिनजान भएकी एक युवतीलाई भेट्न जाँदा एक युवक अपहरणमा परेका छन्। अपहरण गरेको आरोपमा प्रहरीले एक युवतीसहित ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहमा दाङको बबई गाउँपालिका–३ का ३५ वर्षीय लिलाराम विक, सोही ठाउँका ३५ वर्षकै मार्सल भनिने नेपबहादुर घर्ती, तुलसीपुर–४ खाद्रेका २५ वर्षीय सुकलाल विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ का २० वर्षीय मनोज थारु, प्यूठानको गौमुखी गाउँपालिका–७ का २४ वर्षीय जनक कुँवर (गाडीका चालक) र तुलसीपुर उपमहानगरपालिका–७ कि २६ वर्षीया निर्मला विश्वकर्मा छन्।
दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका–३ का२७ वर्षीय केशवकुमार विक साउन ९ गते काठमाडौंबाट घर जाँदै थिए। सोही बेला फेसबुकमार्फत चिनजान भएकी निर्मला नाम बताउने युवतीले उनलाई फोन गर्दै ‘तपाईंसँग काम छ, बुटवलमा झर्नु’ भनेकी थिइन्।
युवतीको आग्रहअनुसार विक पनि राति साढे ८ बजेतिर बुटवल बसपार्कमा उत्रिए। त्यसपछि निर्मला नाम बताउने ती युवतीलाई विकले फोन गरे। निर्मलाले ‘आफन्तको गाडी बसपार्कमै भएको र ड्राइभरको नम्बर पठाइदिन्छु फोन गरेर त्यो गाडीमा आउनु’ भनिन्।
उनैले भनेअनुसार बागमती प्रदेश ०१–०२५ च ८७२९ नम्बरको स्करपिओ गाडीमा विक चढे। त्यहाँ हाल पक्राउ परेका ६ जनै व्यक्ति थिए। बुटवलबाट गाडीमा हालेर विकलाई दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित सल्यान रोडमा रहेको युबम् होटलको कोठा नम्बर १०६ मा राखेर बन्धक बनाइयो।
त्यतिमात्रै होइन विकसँग ७ लाख फिरौती माग गरियो। उक्त सूचना साउन १० गते जिल्ला प्रहरी कार्यालय दाङमा पुगेको थियो। त्यसपछि खटिएको प्रहरी टोलीले सोही दिनको दिउँसो साढे ४ बजे विकलाई उद्धार गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।