काठमाडौं– युवतीको प्रयोग गरेर हनी ट्रयाप शैलीमा ठगी गरेको आरोपमा दाङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरु मध्ये एक पुरुष र चार जना महिला छन्। रोल्पाको परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय दिलिपकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१० कि ३२ वर्षीया पवित्रा डाँगी, सोही ठाउँकी ३२ वर्षकै बिमला डाँगी, सोही ठाउँकी २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली छन्।
साउन २६ गते यो समूहले दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने सुनचाँदी पसल सञ्चालन गर्ने दिनेश घर्तीमगरलाई पर्मिलाले फोन गर्दै सुनको तिलहरी बेच्ने बहाना बनाई उनको पसलमा पुगेकी थिइन्।
सुन पसलमा गएर उनीहरुबीच कुराकानीसमेत भएको थियो। त्यसपछि सोही राति पर्मिलाले दिनेशलाई फोन गर्दै ‘तपाई कहाँ हुनुहुन्छ? आज मेरो कोठामा कोही छैन तपाईं आउनु’ भनेकी थिइन्।
त्यसपछि दिनेश पर्मिलाको कोठामासमेत गएका थिए। त्यतिबेला नै यो समूहले दिनेशलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भन्दै धम्की दिएका थिए। ‘एक घडेरी पास गरेर दिनु नत्र बलात्कार मुद्दामा फसाइदिन्छौं’, यो समूहले दिनेशलाई धम्की दिएको थियो।
घडेरी छैन भन्दै उनले १ लाख नगद,२/२ लाखको २ थान चेक र एक वटा ७ लाख २० हजारको चेक गरी १२ लाख २० हजार रुपैयाँको चेक दिएका थिए। उक्त चेक काटिदिएर छुटेका दिनेशले आफू हनी ट्रयापमा परेर टगिएको भन्दै जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले बताए।
पक्राउ परेकाहरु विरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।