काठमाडौं– ६९ लाख रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। हुण्डी कारोबारी भएको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई नगरपालिका–७ का ३३ वर्षीय सुनिल कुमार साह र धनुषाको जनकपुर–३ का ३३ वर्षीय अंकित गोयन छन्।
घण्टाघरस्थित जामे मार्केट भवनबाट उनीहरुलाई पक्राउ गरिएको हो। माधव श्रेष्ठले सटर भाडामा लिएर सञ्चालन गरेको संजोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाएर राखेको ६० लाख रुपैयाँ बरामद गरेको थियो।
काठमाडौंको कलंकीस्थित गोयनले सञ्चालन गरेको आनी इन्टरनेशनल नामक कार्यालयबाट ९ लाख रुपैयाँ बरामद गरिएको हो। रकम भुक्तान गर्न आएका अंकित गोयनका कर्मचारी सुनिलकुमार पनि सोही बेला पक्राउ परेका हुन्।
पक्राउ परेको रकमसहित उनीहरुलाई राजश्व अनुसन्धान विभागको कार्यालय हरिहर भवन पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।