काठमाडौं– सुन तस्करी गर्नेहरुले अनेक तरिका अपनाउँदै आएका छन्। विमानस्थलको चेकजाँच छल्न कहिले मलद्वारमा लुकाएर त कहिले कपडाको टाँक नै सुनको बनाएर तस्करी हुँदै आएको छ।
यसपटक भने प्रहरीले करिब एक किलो सुन कपडामा लेपन लगाएर ल्याउँदै गरेको अवस्थामा फेला पारेको छ।
आइतबार र सोमबार गरी दुई जनालाई कपडामा लेपन लगाएर सुन तस्करी गरी ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको छ। यसरी दुवै जनाको कपडा गलाएपछि करिब एक किलो सुन भेटिएको छ।
आइतबार त्रिभुवन विमानस्थलमा फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का सोमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको थियो। उनले लगाएको पाइन्ट र भित्री वस्त्र शंकास्पद देखिएपछि जाँच गरेको थियो।
उनको कपडा गलाउँदा कपडामा लेप गरिएको अवस्थामा ४ सय १८ दशमलव ३१० ग्राम सुन फेला परेको छ। यस्तै उक्त तस्करीमा सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–५ का धनबहादुर विकको पनि संलग्नता पाइएको छ। उनको संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तै सोमबार सोही एयरको उडानबाट दुबईबाट काठमाडौं आएका मोरङको पथरी शनिश्चरे नगरपालिका–४ का २८ वर्षीय रिवाज गजमेयरलाई पनि सुन तस्करीको आरोपमा पक्राउ गरेको थियो। उनले लगाएको पाइन्ट, गन्जी र भित्री वस्त्र शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर कपडा जाँच गरिएको थियो।
उनको कपडा गलाउँदा ५५६ दशमलव ४७० ग्राम सुन भेटिएको छ। उनको उक्त तस्करीमा सिन्धुलीको कमलामाई नगरपालिका–५ का २६ वर्षीय सागर न्यौपानेको संलग्नता भएको पाइएपछि उनलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका चारै जनालाई त्रिभुवन भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।