काठमाडौं– हराएको नागरिकता फेला पारेका व्यक्तिले उक्त नागरिकतामार्फत कम्पनी खोलेर ठगी धन्दा सञ्चालन गरेको पाइएको छ। भेट्टाएको नागरिकताबाट कम्पनी खोली ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा भक्तपुरको ठिमी नगरपालिका–९ का २८ वर्षीय सुरेश भनिने प्रदीप कर्माचार्य, मुगुको खत्याड गाउँपालिका–११ का २४ वर्षीय विशाल कार्की र खत्याड–८ कै २१ वर्षीय रामकृष्ण रावत छन्।
जिल्ला प्रशासन कार्यालय कन्चनपुरबाट जारी भएको निरज पाण्डेय नामको नागरिकता हराएको थियो। उक्त नागरिकतामार्फत् कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा एभरेष्टलिंक इन्टरनेशनल एजुकेशन प्रालि नामको कम्पनी दर्ता गरिएको थियो।
पाण्डेयको नागरिकताबाट कम्पनी खोलेका उनीहरुले कुमारी र सेन्चुरी बैंकमा खातासमेत खोलेका थिए। त्यसपछि वैदेशिक रोजगारीमा रसिया पठाउने भन्दै रकम कुमारी र सेन्चुरी बैंकको खातामा हाल्न लगाएर ठगी गरेको खुलेको थियो।
नागरिकताको दुरुपयोग गरी ठगी गरेको थाहा पाएपछि पाण्डेयले प्रहरीमा जाहेरी दिएका थिए। सोही आधारमा तीन जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
पक्राउ परेका मध्ये कर्माचार्य कम्पनीको सिईओ, कार्की पाण्डेयको नागरिकता आफ्नो भएको भन्दै बैंकमा खाता खोल्ने व्यक्ति र रावत कम्पनीको सहजकर्ता भएको खुलेको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।