काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आईरहेको बिशेष चेकिङ अभियान अन्तर्गत बुधबार ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमध्ये विभिन्न कलेजका ५१ जना विद्यार्थीहरु छन्।
कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ। जसमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका हुन्।
यस्तै, बुधबार बिहानको नियमित चेकिङमा ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १०७ जना, एम्बुलेन्सका चालक ४ जना र २१६ जना अन्य सवारी चालकहरूलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
मदिरा सेवन गरी स्कूल बस चलाउँदै गरेका १ जना गरी ३२८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।