काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही घर भइ हाल काठमाडौंको बानेश्वर बस्ने ४० वर्षीय छविलाल भट्टराई रहेका छन्।
उनले काठमाडौं–९ सिनामंगलस्थित प्रेस्टिज एचआर म्यानपावर कम्पनी चलाउँदै आएका छन्। उनले रोमानिया पठाइदिन्छु भन्दै हिमाल खनाललाई ठगी गरेकाे भन्दै उजुरी परेकाे छ ।
रोमानियामा आकर्षक जागिर लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारेर रकम लिई फरार भएपछि खनालले भट्टराईविरुद्ध उजुरी दिएका थिए।
खनालको उजुरीपछि प्रहरीले भट्टराईलाई काठमाडौंको मिनभवनबाट पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।