काठमाडौं– लागु औषध कारोबारबाट रकम आर्जेको भन्दै दुई जनाविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाएको छ।
विभागले साउन २९ गते मकवानपुर मनहरी गाँपालिका–९ खराङगका कल्पना घलान र कमवानपुरको कैलाश गाउँपालिका–१ का ५३ वर्षीय सानुकान्छा योन्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गत असार १५ गते घलानको घरमा खानतलासी गर्दा प्रहरीले नेपाली रुपैयाँ ७ लाख १७ हजार बरामद गरेको थियो। उनकै घरमा राखिएको मधेश प्रदेश ०३–०२३ प ३१७२ नम्बरको मोटरसाइकलको सिटमुनि लुकाएर राखेको १ लाख ९८ हजार ९ सय भारु बरामद पनि गरेको थियो। उक्त मोटरसाइकल योन्जनले प्रयोग गर्दै आएका थिए।
उक्त रकम लागु औषध गाँजा र अफिमको कारोबारबाट आर्जित भएको खुलेपछि प्रहरीले दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो।
विभागले १० लाख ३५ हजार २४० बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा १ बमोजिमको कसुरको माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
योन्जन २०७७ फागुन २३ गतेदेखि लागु औषध अफिम १३ किलो १२० ग्राम र चरेश २६ ग्राम मुद्दाका फरार प्रतिवादीसमेत रहेको खुलेको थियो। घलान योन्जनको घरबेटी समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।