काठमाडौं– इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटाएर पठाए पनि नेपाल आयल निगमले भने मूल्य समायोजन नगर्ने भएको छ।
नेपाल आयल निगमले मूल्य घटेर आए पनि घाटा धेरै भएकाले तत्काल मूल्य समायोजन गर्न नसकिने बताएको हो। एक सूचना जारी गर्दै निगमले आईओसी र नेपाल सरकारले उपलब्ध गराएको ऋण तिर्न बाँकी रहेकाले मूल्य समायोजन गर्न नसकिने जनाएको हो।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) ९५ डलरमा कारोबार भइरहेको छ।
आइओसीले मंगलबार नेपाललाई नयाँ मूल्य पठाएको थियो। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ ९० पैसा र डिजेलमा ४ रूपैयाँ ७५ पैसा घटाएर पठाएको छ। विश्व बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपाल आयल निगमलाई तीन पटकसम्म मूल्य घटाएर पठाइसकेको छ।
पहिलो पटक असार ३२ गते आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेलमा १६ रूपैयाँ ५६ पैसा घटाएर पठाएको थियो। त्यस्तै, दोस्रो पटक साउन १६ गते प्राप्त मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ।
यी दुवैपटक निगमले उपभोक्ताको लागि मूल्य घटाएको थिएन। नेपाल आयल निगमले आइओसीलाई चार महिनादेखि भुक्तानी दिन नसकेको र अझै २३ अर्ब भुक्तानी दिन बाँकी रहेकाले तत्काल मूल्य समायोजन गर्न नसकिने जनाएको हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।