जनकपुर–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताएका छन्।
पिछडा वर्ग महासंघको मधेस प्रदेश भेलालाई सोमबार जनकपुरधाममा सम्बोधन गर्दै उनले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निस्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि पठाइने बताए।
उनले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने भनी संविधानले नै सुनिश्चित गरिसकेकाले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गर्ने षड्यन्त्र भए आफूहरु सडक र सदन दुवै ठाँउबाट आन्दोलन गर्ने बताए।
अघिल्लो सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गरेको भन्दै अध्यक्ष यादवले अहिले संसद्बाट पास भएको विधेयक फिर्ता गर्नु उचित नभएको जिकिर गरे।
शिक्षा, स्वास्थ्य र सामाजिकरूपमा पछाडि परेको पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउने जिम्मेवारीसमेत राज्यकै रहेको उल्लेख गर्दै उनले पिछडा वर्गलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पिछडा वर्गको उत्थान र विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममै समावेश गरेर पाँच करोड बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए। उनले छिट्टै पिछडा वर्ग विकास समिति गठन गरेर पिछडा वर्गको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।