फाइल तस्बिर
काठमाडौं–चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम जारी नगरी छलफलमा बोलाएको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागि रिट निवेदक र सरकारलाई बोलाएको छ। सर्वोच्चले भदौ २ गते अन्तरिम आदेशको छलफलमा उपस्थित हुन भनेको छ।
नरेशकुमार पौडेलसमेतले दायर गरेको रिटमा सर्वोच्चले लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको हो। ‘अन्तरिम आदेश जारी गर्ने नगर्ने सम्बन्धमा दुवै पक्षलाई राखी छलफल गर्न उपयुक्त देखिँदा अन्तरिम आदेशका लागि मिति २०७९ भदौ २ गतेको पेसी तोकी सूचना दिनू,’ आदेशमा भनिएको छ, ‘अदालतले केसीलाई बोर्डको अध्यक्षमा नियुक्ति गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल पनि अर्को सुुनुवाइमा पेश गर्नू।’
केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नियुक्ति बदरको माग गर्दै रिट परेको थियो। १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीको नाम उम्मेदवारका रूपमा छनोट गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।