काठमाडौं–काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर विसर्जनलाई लिएर केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै भएको बताएका छन्। उनले फोहोर फाल्न अवरोध हुनुमा गहिरा र अलग्गै कारण भएको जनाएका छन्।
स्वार्थको व्यवस्थापनभन्दा पनि फोहोरको व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। उनले आज पनि फोहोर बञ्चरेडाँडामा लैजान सहज नभएको भन्दै यस्तो बताएका हुन्।
मेयर शाहले सामाजिक सञ्जालमार्फत् सत्तारुढ दलहरूकै स्थानीय नेताको अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका छन्। ‘सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो’ उनले लेखेका छन्, ‘जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो।’
यद्यपि २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगिएको र केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिएको उनले जनाएका छन्।
‘केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारण छन्। नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ’ उनले थप लेखेका छन्, ‘२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ?’
उनले केही कमजोरी, केही गल्ती भएकै स्वीकार गरेका छन्। सिसडोलमा गरिएको लापरबाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरूले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक पनि नभएको उनको बुझाइ छ।
‘हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ। यसका लागि केही समय भने पक्कै लाग्छ। सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ’ उनले लेखेका छन्, ‘हामी आफूले गरेका सहमतिहरूको पालना गर्नेछौँ। सबै पक्षबाट हामी त्यही किसिमको संवेदनशीलता र इमानदारिताको अपेक्षा राख्दछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।