काठमाडौं– काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर ल्यान्डफिल साइटमा ल्याउन नदिने तीन राजनीतिक दलका स्थानीय प्रतिनिधिले घोषणा गरेका छन्।
आइतबार नेपाली कांग्रेस धुनिवेशी नगरपालिका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भिषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका हुन्।
विगत १७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सिमाना सिसडोल र पछिल्लो समय बन्चरे डाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।अव्यवस्थित फोहोरका कारण स्थानीयको जनजीवन कष्टकर बन्नुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्दै गइरहेकाले अब सधैंका लागि सिसडोल र बन्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न बन्द गर्ने उनीहरुले घोषणा गरेका हुन्।
मानव स्वास्थ्य दैनिक बिग्रँदै गए पनि महानगरपालिकालगायत सरोकारवालाले हलुका रुपमा लिएको उनीहरुको आरोप छ। स्थानीयले विभिन्न समयमा आफ्ना मागहरु राखेर आन्दोलन गर्दा पनि राज्यले ध्यान नदिएकाले ल्यान्डफिल्ड साइटमा अबदेखि फोहोर फाल्न बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।
‘स्थानीय पीडित जनताहरुलाई विभिन्न खालको झुट्टो अभियोग लगाई दु:ख दिन खोजियो। अब महानगर वा राज्यसँग सम्पूर्ण रुपमा आफ्नो विश्वास गुमेकाले फोहोरमैला दीर्घकालीन बन्द गर्ने अभियानको नेतृत्व राजनैतिक दलले गरिदिन पर्ने माग जोडतोडका साथ उठेको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘सत्ता गठबन्धनको तर्फबाट यो समस्याको समाधान गर्न हामी तयार भएको जानकारीसहित तीनवटै पार्टीटीको नगरकार्यसमितिले तत्कालै हाम्रो नगरभित्रै रहेको प्रमुख पार्टी नेकपा एमालेसहित सबै दलको सर्वदलीय बैठक बोलाई फोहोरमैलाको समस्या समाधानको लागि अग्रसरता लिनुहुन माग गर्दछौं।’
स्थानीयको समस्यालाई गम्भीरताका साथ नलिइ जनताको स्वास्थ्यमाथि खेलबाड गरे अबको संघ र प्रदेश सभाको निर्वाचनसमेत बहिस्कार गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ। ‘स्थानीय पीडित जनताहरु अहिले पनि आन्दोलनमा नै भएकोले हामी पनि आजैको दिनबाट उक्त आन्दोलनमा सहभागिता जनाउने निर्णय गरेका छौं’, ३ दलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यता काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भने आफूहरूलाई दलहरूले उक्त घोषणा गरेकोबारे आधिकारिक रुपमा जानकारी नभएको बताएका छन्। उनका अनुसार अहिले पनि फोहोर बोक्ने गाडीले ल्यान्ड फिल्ड साइटमा फोहोर लैजाने काम गरिरहेको छ।
‘अहिले उपत्यकाको फोहोर लैजाने काम जारी रहेको छ। हामीलाई फोहोर फाल्न नै बन्द गर्ने भनेर आधिकारिक रूपमा जानकारी आएको छैन,’ उनले भने, ‘केही समय अगाडि त्यहाँका जनप्रतिनिधिसँग फोहोर फाल्न अवरोध नगर्ने सहमति भएको छ। उहाँहरूले फोहोर फाल्न अवरोध गर्नुहुन्न।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।